काठमाडौं । राष्ट्रिय फुटबल टिमका भरपर्दा खेलाडी रोहित चन्द र किरण लिम्बुले बंगबन्धु गोल्डकप प्रतियोगिता नखेल्ने भएका छन् ।
विदेशीमा लिगमा खेलिरहेका दुवैको क्लबलाई समयमै पत्राचार हुन नसक्दा मिडफिल्डर रोहित र गोलकिपर किरणले बंगबन्धु गोल्डकप गुमाउने भएका हुन् । किरणले माल्दिभ्स र रोहितले ईन्डोनेशियाबाट ब्यावसायीक फुटबल खेलिरहेका छन् ।
‘समय कम भयो । छोटो समयमा पत्राचार गर्दा क्लबले छाड्ने सम्भवना रहदैन । त्यसैले बंगबन्धुमा दुवैलाई देख्न पाईदैन ।’ एन्फाका एक अफिसियलले भने ।
एन्फाले किरणको स्थानमा विशाल श्रेष्ठ र रोहितको स्थानमा तेज तामाङलाई समावेश गर्ने भएको छ ।
प्रतियोगिता खेल्ने नेपाली टिम आगामी असोज १४ गते बंगलादेश प्रस्थान गर्ने एन्फाले जनाएको छ ।
नेपाली टोलीले मंगलबारबाट तयारी थाल्नेछ । रोहित र किरण बाहेक अन्य नेपाली टोलीमा साफ खेल्दाका सदस्य रहनेछन् ।