एजेन्सी । युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा बंगलादेशले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा अफगानिस्तानलाई ३ रनले हराएर बंगलादेशले सुपर चारमा महत्वपूर्ण अंक जोडेको हो ।
शेख जायद क्रिकेट स्टेडियममा बंगलादेशले दिएको २५० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अफगानिस्तानले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २४६ रन मात्र जोड्न सक्यो ।
अफगानिस्तानका हास्मतउल्लाह शाहिदी र मोहमद शाहजादले अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन । शाहिदीले ७१ तथा शाहजादले ५३ रन जोडे । यस्तै कप्तान अस्घर अफगानले ३९ रन जोड्दा मोहमद नाबीले ३८ रन बनाए । बंगलादेशका माश्रफ मोर्टाजा र मुस्ताफिजुर रहमानले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २४९ रन जोडेको थियो । बंगलादेशका लागि ममुदुल्लाह ७४ रन जोड्दा इम्रुल कायेसले अविजित ७२ रनको अर्धशतकीय इनिङस खेले । यस्तै लिटोन दासले ४१ रन जोडे । अफगानिस्तानका अफ्ताब आलमले ३ विकेट लिए ।
यो जितसंगै बंगलादेशले दुई खेलमा २ अंक जोडेको छ । बंगलादेश तेस्रो स्थानमा छ । जितपछि बंगलादेशले पनि शीर्ष दुईमा रहेर फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । अंकबिहिन अफगानिस्तानको भने सम्भावना निकै कम रहेको छ ।
सुपर चारमा २ खेलबाट ४ अंक जोडेको भारत शीर्ष स्थानमा रहदा २ अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ ।