एजेन्सी । भारतले युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको दोस्रो खेलमा पाकिस्तानलाई ९ विकेटले हराउदै भारतले लगातार दोस्रो जित निकालेको हो ।
पाकिस्तानले दिएको २३८ रनको लक्ष्य भारतले ३९ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा कप्तान रोहित शर्मा र शिखर धवनले शतकीय इनिङस खेले । रोहित १११ रनमा अविजित रहदा शिखरले ११४ रनको योगदान दिए । त्यस्तै अम्बाती रायडू १२ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभर खेल्दै ७ विकेट गुमाएर २३७ रन जोडेको थियो । पाकिस्तानका लागि सोएब मलिकले ७८ रन जोड्दा सर्फराज अहमेदले ४४ रनको योगदान दिए । त्यस्तै फकर जमानले ३१ रन जोड्दा आसिफ अलीले ३० बनाए । भारतका जस्प्रित बुम्राह, युजभेन्द्र चाहल र कुलदिप यादवले २/२ विकेट लिए ।
जितसंगै भारतले सुपर चारमा २ खेलबाट ४ अंक जोडेको छ । र, भारत शीर्ष स्थानमा छ । शुक्रबार भएको सुपर चारको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले हराएको हो ।
२ खेलबाट २ अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ । यसअघि पाकिस्तानले अफगानिस्तानलाई हराएको थियो ।