काठमाडौं । एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोको अन्तिम खेलमा नेपालले मलेसियासंग बराबरी खेलेको छ । आइतबार भएको खेलमा नेपालले मलेसियासंग ४ - ४ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।
हल्चोकस्थित एपीएफ क्लबको मैदान मलेसियाले लिएको सुरुवाती अग्रता उल्टाएर नेपालले बराबरी खेलेको हो । नेपालका लागि कप्तान प्रिती राई, सुस्मा तामाङ र सबिता रानामगरले एक एक गोल गरिन् ।
नेपालले एक गोल आत्मघाती उपहार पाएको थियो । मलेसियाको लागि हेल्मा इम्लीले २ गोल गर्दा नरुल नबिला र विटी तामिङले एक गोल गरिन् । यस्तै मलेसियाको लागि तामिङले नै आत्मघाती गोल गरेकी थिइन् ।
योसंगै छनोटको समूह 'ई' मा रहेको नेपालले १ अंक जोडेर प्रतियोगिता सकाएको छ । मलेसियाले पनि अन्तिम खेलमा आएर १ अंक जोडेको छ । चार टोली रहेको प्रतियोगितामा नेपाल पुछारमा रह्यो । गोल अन्तरमा मलेसिया तेस्रो स्थानमा रह्यो ।
अघिल्ला दुई खेलमा दुवै टोलीले पराजय बेहोरेका थिए । पहिलो खेलमा नेपाल फिलिपिन्ससंग ४ - ० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल म्यानमारसंग ११ - १ ले पराजित भएको थियो । मलेसिया पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा फिलिपिन्ससंग पराजित भएको थियो ।
यस छनोटबाट म्यानमारले दोस्रो चरणको छनोटमा स्थान बनाएको छ । समूह चरणको अन्तिम खेलमा आइतबार फिलिपिन्सलाई ५ - १ ले हराएर म्यानमारले उपाधि जितेको हो ।
म्यानमारले ३ खेलबाट ९ अंक जोड्यो । र, म्यानमारले अपराजित रहदै दोस्रो चरणको छनोटमा स्थान बनाएको छ । यस्तै ३ खेलबाट ६ अंक जोडेको फिलिपिन्सले उपविजेता बन्यो । फिलिपिन्सको पनि उत्कृष्ट २ उपविजेता बन्दै दोस्रो चरणको यात्रा तय गर्ने सम्भावना छ ।
दोस्रो चरणबाट छनोटबाट ४ हुने टोलीले थाइल्याण्डमा अर्को वर्ष हुने एएफसी यू–१६ महिला च्याम्पियनसिप खेल्नेछ । थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपमा ८ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भईसकेका छन् ।