काठमाडौं । म्यानमारले एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोट अन्तर्गत समूह 'ई' को उपाधि जितेको छ ।
समूह चरणको अन्तिम खेलमा आइतबार फिलिपिन्सलाई ५ - १ ले हराएर म्यानमारले उपाधि जितेको हो ।
हल्चोकस्थित एपीएफ क्लबको मैदानमा म्यानमारलाई जित दिलाउन स्वे मार औङ र जिन मारले २/२ गोल गरिन् । यस्तै फिलिपिन्सकी असाबेला मेगानले आत्मघाती गोल गर्दा मिकाइला भिलासिनले एक गोल फर्काइन् ।
जितसंगै म्यानमारले ३ खेलबाट ९ अंक जोड्यो । र, म्यानमार अपराजित रहदै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो चरणबाट छनोट हुने ४ टोलीले थाइल्याण्डमा अर्को वर्ष हुने एएफसी यू–१६ महिला च्याम्पियनसिप खेल्नेछ ।
यस्तै ३ खेलबाट ६ अंक जोडेको फिलिपिन्सले उपविजेता बन्यो । फिलिपिन्सको पनि उत्कृष्ट २ उपविजेता बन्दै अर्को चरणको यात्रा तय गर्ने सम्भावना छ ।
थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपमा ८ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भईसकेका छन् ।
छनोटमा नेपालले अन्तिम खेलमा आजै मलेसियासंग खेल्दैछ । नेपाल र मलेसिया पहिलो जितको खोजीमा हुनेछ । दुवैले अघिल्लो दुई खेल गुमाएको छ ।