एजेन्सी । क्रिकेट खेलको दौरान ‘बल टेम्परिङ’ गरेपछि प्रतिबन्धमा परेका अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नर घरेलु क्रिकेट लिगमा फर्किएका छन् ।
दक्षिण अफ्रीकाविरुद्धको टेष्ट क्रिकेट दौरान ‘बल टेम्परिङ’ गरेको पुष्टि भएपछि स्मिथ र वार्नरलाई क्रिकेट अष्ट्रेलियाले १२ महिनाको प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि दुवैले शनिबार घरेलु लिग सिड्नी ग्रेड क्रिकेट खेल्दै मैदान फर्किएको क्रिकइन्फोले जनाएको छ ।
घरेलु क्रिकेटमा फर्किएकै खेलमा दुवैले उत्कृष्ट प्रदर्शन समेत गरेका छन् । राण्डविक पिटरशामबाट खेलेका वार्नरले अविजित १५५ रनको शतकीय इनिङस खेलेका थिए । यस्तै सथरल्याण्डबाट खेल्दै स्मिथले ८५ रन बनाएका थिए । लिगमा दुवै खेलाडीको टोलीले जित हासिल गरेको छ ।
गत मार्चमा दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट क्रिकेटको दौरान अष्ट्रेलियाका क्यामरुन बेनक्राफ्टले ‘बल टेम्परिङ’ गरेको भिडियो सार्वजनिक भएपछि स्मिथ र वार्नर विवादमा मुछिएका थिए । ‘बल टेम्परिङ’ पुष्टि भएपछि स्मिथ र वार्नरलाई एक बर्षको प्रतिबन्ध लागेको थियो । बेनक्राफ्टले भने ९ महिनाको प्रतिबन्ध खेपेका थिए ।
प्रतिबन्धपछि स्मिथ र वार्नरले क्यानडाको ग्लोबल टी-ट्वान्टी प्रिमियर लिग र क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट खेलेका थिए ।