काठमाडौं । नेपालले सहभागिता जनाउने पाँचौ संस्करणको बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप फुटबलको ट्रफी सार्वजनिक गरिएको छ । आगामी अक्टोबर पहिलो साताबाट बंगलादेशमा हुने प्रतियोगिताको ट्रफी शनिबार सार्वजनिक गरिएको हो ।
बंगलादेश फुटबल फेडेरेसनले एक विशेष कार्यक्रमकाबीच ट्रफी सार्वजनिक गरेको हो । यस पटक ट्रफीमा अघिल्लो बर्षको भन्दा निकै आकर्षक तरिकाले डिजाइन गरिएको छ । अघिल्लो बर्ष बंगबन्धु गोल्डकप नेपालले जितेको थियो ।
यस संकरणको प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ । र, नेपालले पहिलो खेलमा ताजकिस्तानसंग खेल्नेछ । नेपालले ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसंग अक्टोबर ६ मा खेल्नेछ ।
६ टोलि रहने प्रतियोगिताको समूह 'बी' मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेको छ । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।
बंगलादेशको राष्ट्रिय पिता बंगबन्धु शेख मुजिकुर रहमानको स्मृतिमा हुने प्रतियोगितामा नेपाल साबिकको विजेता हो । नेपालले फाइनलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । फाइनलमा विमल घर्तीमगर,नवयुग श्रेष्ठ र बिशाल राईले गोल गरेका थिए ।
तस्विर : बंगलादेश फुटबल फेडेरेसन