काठमाडौं । एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोट समूह 'ई' अन्तर्गत नेपालले अन्तिम खेलमा आज (आइतबार) मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।
अघिल्ला दुई खेलमा पराजित हुँदै छनोटबाट बाहिरिसकेको नेपालले मलेसियासंग खेल्न लागेको हो । नेपाल र मलेसियाबीचको खेल हल्चोकस्थित एपीएफ क्लबको मैदानमा अपरान्ह हुनेछ ।
मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल फिलिपिन्ससंग ४ - ० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल म्यानमारसंग ११ - १ ले पराजित भएको थियो ।
मलेसियाविरुद्ध भने नेपाल सान्त्वना जित निकाल्ने लक्ष्यमा हुनेछ । यत, मलेसिया पनि पहिलो जितकै खोजीमा हुनेछ । मलेसिया पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा फिलिपिन्ससंग पराजित भएको थियो ।
नेपाल र मलेसिया अंकबिहिन रहेका छन् ।
छनोटमा फिलिपिन्स र म्यानमारले समान ६ अंक जोड्दै अघिल्लो चरण पुग्ने पक्का गरिसकेको छ । समूहको शीर्ष दुई टोलीले अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् ।
फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भईसकेका छन् ।