एजेन्सी । साबिकको विजेता वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा लगातार चौथो जित निकालेको छ । शनिबार राति शाल्केलाई २ - ० ले हराएर वायर्नले लगातार जित हात पारेको हो ।
वायर्नले शाल्केलाई उसैको मैदानमा हराएको हो । वायर्नको जितमा जेम्स रोड्रीगेज र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे । शाल्केमाथि वायर्नले दुवै हाफमा एक एक गोल गरेको थियो ।
पहिलो हाफको आठौं मिनेटमा रोड्रीगेजले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई २ - ० को जित दिलाए । लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेका थिए ।
जितसंगै वायर्नले ४ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ । पराजित शाल्के अंक बिहिन हुँदै लिगको अन्तिममा छ ।
बुन्डेस लिगा अन्तर्गत नै बोरुसिया डर्टमण्डले होफेनहाइमसंग १ - १ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।