काठमाडौं । राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम लामा मैदान फर्कने भएका छन् । चोटका कारण पछिल्लो ७ महिना मैदानबाट बाहिर रहेका लामा सफल शल्यक्रियापछि मैदान फर्कने तय भएको हो । याेसगै अागामी असाेज १३ गतेबाट सुरु हुने ए डिभिजन लिग बिक्रमले खेल्ने निश्चित भएकाे हाे ।
गत बर्षको अन्तिममा धरानमा भएको बुढासुब्बा गोल्डकपको फाईनलमा पुलिसका खेलाडीसंग ठोक्किएर खुट्टा भाँचिएपछि लामा उपचारमा रहेका थिए । उपचारमा संलग्न चिकित्सकले भाँचिएको खुट्टा पुर्ण रुपमा निको भएको बताएपछि बिक्रम मैदान फर्कन निश्चित भएको हो । खुट्टाको शल्यक्रिया गरेका डा चक्रराज पाण्डेसंग बिक्रमले हिजो शुक्रबार चेकजाँच गराएका थिए ।
‘एक्स रे गरेर हेर्दा खुट्टाको भाँचिएको हड्डी पहिलेकै सामान्य अवस्थामा देखियो । चिकित्सकले अब मैदान फर्किएर फुटबल खेल्न सक्ने बताउनुभएको छ । अब म मैदान फर्कने निश्चित भयो ।’ बिक्रमले खेलपाटीसंग भने ।
थ्रीस्टारका कप्तान समेत रहेका बिक्रमले असोज १३ बाट सुरु हुने लिग फुटबलमा पहिलो खेलबाटै मैदान उत्रने सम्भावना देखिएको बताए । चोटको सफल उपचार गरेका बिक्रम थप चेकजाँचकालागि यसैसाता हङकङ जादैछन् । त्यहाँबाट फर्किए लगत्तै उनी क्लबको नियमित ट्रेनिङ सहभागि हुनेछन् ।