एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन ब्रेन ह्यामरेजको उपचारपछि पहिलोपटक घरेलु मैदान ओल्ड ट्राफोर्ड आएका छन् ।
ब्रेन ह्यामरेज भएपछि फर्गुसनको गत मे महिनामा आकष्मिक शल्यक्रिया गरिएको थियो । ब्रेन ह्यामरेज भएपछि गत मे ५ मा फर्गुसनलाई तत्काल साल्फोर्ड रोयल अस्पताल लगिएको थियो । अस्पताल लैजानसाथ फर्गुसनको आकस्मिक शल्यक्रिया गरिएको थियो ।
ब्रेन ह्यामरेजको सफल शल्यक्रियापछि फर्गुसन पहिलोपटक शनिबार युनाइटेडको घरेलु मैदानमा देखा परेका हुन् । ७६ बर्षीय फर्गुसन वुल्भ्सविरुद्ध हुने खेल हेर्न ओल्ड ट्राफोर्ड आएका मिरर अनलाइनले समचार लेखेको छ ।
यस्तै युनाइटेडले आफ्नो अफिसियल ट्वीटर एकाउन्टबाट पुर्व प्रशिक्षक फर्गुसनलाई स्वागत गर्दै ट्वीट गरेको छ । युनाइटेडले फर्गुसनको ताजा तस्विर राख्दै लेखेको छ, 'ओल्ड ट्राफोर्डमा स्वागत छ सर एलेक्स ।'
युनाइटेडले घरेलु मैदानमा आज वुल्भ्ससंग खेल्दैछ । ओल्ड ट्राफोर्डमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा सुरु हुनेछ ।
युनाइटेडको सफल प्रशिक्षक फर्गुसनले सन् २०१३ बाट प्रशिक्षण जीवनबाट सन्यास लिएका थिए । फर्गुसनले सन् १९८६ बाट २०१३ सम्म म्यानचेस्टर युनाइटेडको प्रशिक्षक सम्हालेका थिए ।
युनाइटेडमा २६ बर्ष रहदा फर्गुसनले क्लबलाई ३८ उपाधि दिलाएका थिए । फर्गुसनले युनाइटेडलाई १३ प्रिमियर लिग, २ च्याम्पियन्स लिग र ५ एफए कप उपाधि दिलाएका थिए । यस्तै फर्गुसनले ४ लिग कप पनि युनाइटेडलाई दिलाएका थिए ।