एजेन्सी । युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारमा भारतले जित निकालेको छ । शुक्रबार भएको सुपर चारको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले हराएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशले दिएको १७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ३६ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
भारतको जितमा कप्तान रोहित शर्माले उत्कृष्ट प्रदर्शन गरे । रोहितले पाँच चौका र तीन छक्कासहित अविजित ८३ रनको अर्धशतकीय पारी खेले ।
यस्तै शिखर धवन ४० रन जोड्दा महेन्द्र सिंह धोनीले ३३ रनको योगदान दिए । बंगलादेशका शकिब अल हसन, माश्रफ मोर्टाजा र रुबेल हुसेनले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर १ बलमा अलआउट हुँदै १७३ रन जोडेको थियो । बंगलादेशका लागि हसन मिराजले ४२ रन जोड्दा माश्रफ मोर्टाजाले २६ रन जोडे । यस्तै मदुमुल्लाहले २५ रन बनाउदा मुस्फिकर रहिमले २१ रन बनाए ।
बंगलादेशलाई सस्तैमा समेट्न भारतका रबिन्द्र जडेजाले ४ विकेट लिए । यस्तै भुवनेश्वर कुमार र जस्प्रित बुम्राहले समान ३/३ विकेट लिए ।
अब भारतले दोस्रो खेलमा आइबार पाकिस्तानसंग खेल्नेछ । यस्तै बंगलादेशले अफगानिस्तानको सामना गर्नेछ ।
एसिया कपमा भारत समूह 'ए' को विजेता बन्दै सुपर कपमा पुगेको थियो । यस्तै बंगलादेश समूह 'बि' को उपविजेता बनेको थियो ।