काठमाडौं । नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने एकै वर्षमा सर्वाधिक राष्ट्रमा क्रिकेट खेल्ने खेलाडी बनेका छन् ।
क्रिकेट वेबसाईट क्रिकइन्फोले निकालेको धेरै देशमा क्रिकेट खेल्ने क्रिकेटरको सूचीमा सन्दीप परेका हुन् । क्रिकइन्फोको 'क्रिकेट मन्थ्ली' संस्करणमा सन्दीप अन्य पाँच खेलाडीसंगै यस सूचीमा अटाएका हुन् ।
क्रिकइन्फोका अनुसार सन्दीपले ९ राष्ट्रमा क्रिकेट खेलिसकेका छन् । सन्दीपले ९ वटै राष्ट्रमा टी-ट्वान्टी क्रिकेट खेलेका हुन् । सन्दीपले यसै वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेका थिए । उनले दिल्ली डेयरडेभिल्सबाट आईपीएल खेलेका थिए ।
हालै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेका सन्दीप अफगानिस्तान प्रिमियर लिगमा समेत अनुबन्धित भईसकेका छन् ।
यस सूचीमा सन्दीपसंगै पाकिस्तानका शोएब मल्लिक र शादाब खान तथा बंगलादेशका तमिम इकबालले पनि ९/९ राष्ट्रमा खेलेका छन् ।
सूचीको शीर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नाबी र राशिद खान रहेका छन् । दुबैले १० राष्ट्रमा खेलेका छन् ।