काठमाडौं । एक समय एसियाको एसोसियट राष्ट्रमा उम्दा मानिने नेपाली महिला क्रिकेट अहिले कुन स्थितिमा छ ?
धेरैलाई यसको पत्तो छैन ।
सहभागितामा सिमित रहने नेपालको महिला क्रिकेट अन्तराष्ट्रिय प्रतियोगिताको समय फाट्ट फुट्ट देख्न पाईन्छ ।
महिला क्रिकेट यतिबेला लगभग शुन्य अवस्थामा छ । पछिल्लो समय कुनै अन्तराष्ट्रिय प्रतियोगिता अगाडी छैनन् । राष्ट्रिय गतिविधि ठप्प प्राय छन् । त्यसैले अघि अघि यसको अस्तित्वमाथिनै प्रश्नपनि उठ्ने गर्छन् ।
न एकेडेमी, न लगानी । महिला क्रिकेटको अस्तित्वको खोजिमा निस्कने अवस्था सिर्जना स्वयम महिला क्रिकेटरहरु बताउछन् ।
पुरुष क्रिकेट टिमले ४ बर्षको वान डे स्टाटस पाएको छ । तर त्यही अवस्थामा नेपालको महिला क्रिकेट लगभग शुन्य प्राय अवस्थामा छ ।
नेपालले पहिलो पटक सन् २००७ मा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो । डेब्यु प्रतियोगितामै नेपाल उपविजेता बन्यो ।
एसियाली क्रिकेट परिषद् एसीसीले आयोजना गरेको यू - १९ को उपाधिमा नेपालले ह्याट्रिकनै गर्यो ।
अन्तराष्ट्रिय एरिनामा नेपाललाई एकपछि अर्को सफलता दिलाएको नेपालको महिला क्रिकेट कहिल्यै राज्यको प्राथमिकतामा परेन । कति क्रिकेटर पलायन भए, कतिले विकल्प रोजे ।
कुनै समय कमजोर मानिएका बंगलादेश, थाईल्याण्ड, श्रीलंका अहिले नेपाललाई पर्खाल बन्ने गरेका छन् ।
प्रशिक्षक राजु बस्नेत महिला क्रिकेटको विकासमा सबै पक्ष ध्यान चुकेको बताउछन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको छोटो समयमा ठुला उपलब्धि हासिल गरेको नेपालको महिला क्रिकेट अहिले नाजुक अवस्थामा छ ।
घरेलु संचरनाको अभाव, योजना विहिन संघ आदि ईत्यादीका कारण नेपाली महिला क्रिकेट कहिल्यै माथि उठ्न पाएन ।
सरकारी क्षेत्रबाट बर्षमा एकाधपटक आयोजना हुने प्रतियोगिताले खेलाडी उत्पादन र प्रवर्दनमा टेवा पुगेको छैन ।
नेपाली क्रिकेट अहिले आईसीसीको प्रतिबन्धमा छ । पुरुष क्रिकेटको अन्तराष्ट्रिय सहभागिताको पाटो आईसीसीको खटनपटनमा हुदै आएको छ ।
तर महिला क्रिकेटबारे राज्य बेखबर छ । अवस्था यस्तो छ, जो १० बर्ष अगाडी क्रिजमा थिए, अहिले समेत उनै अनुहार राष्ट्रिय टिममा देख्न पाईन्छ ।
‘महिला क्रिकेटको अवस्था देख्दा मन पिरोल्छ । खेलाडीमा आट छ, भरोसा छ, क्षमतापनि छ । तर लगानी र खेल्ने वातावरण छैन् ।’ प्रशिक्षक समेत रहेका बस्नेत भन्छन्, ‘देशमा महिला क्रिकेटलाई हेर्ने कुनै निकायनै छैन ।’
क्यान हुदाँ समेत महिला क्रिकेट यस्तै थियो, अहिले नहुदाँसमेत उस्तै छ । यसलाई कर्मकाण्डी जसरी प्रयोग गरियो ।
समय बित्दै गयो । पुरुष क्रिकेटले सफलता हासिल गर्दै गयो । महिलाको तुलनामा पुरुष क्रिकेटले सबैको ध्यान तान्दै गयो ।
पुरुष क्रिकेटले एकपछि अर्को अन्तराष्ट्रिय छलाङ मार्दै गयो । त्यही रफ्तारमा महिला क्रिकेटको ओरालो यात्रा सुरु भयो । महिला क्रिकेटर फुर्सदिला बन्न थाले ।
‘महिला र पुरुष क्रिकेटलाई समान रुपमा अगाडी बढाउन सकेको भए अवस्था फरक हुन सक्थ्यो ।’ बस्न्यात यसै भन्छन् ।
नेपालले एसीसी महिला च्याम्पियनसिपको उपाधि तीन पटक जित्दा चीनले भर्खरै क्रिकेट सुरु गरेको थियो । पछिल्लो समय चीनियाँ क्रिकेटले अन्तराष्ट्रिय रुपमा लामो उडान लिएको छ । तर,नेपालको महिला क्रिकेट अझ धरासायी बन्दैछ ।
एक समय थियो, अन्तराष्ट्रिय क्रिकेटमा पुरुष टिम लड्खडाएको थियो । महिला क्रिकेट भने एक पछि अर्का उपाधि हात पार्दै अगाडी लम्किएको थियो ।
सन् २०१२ को महिला एसिया कप, २०१४ को एसियाली खेलकुद, २०१६ को महिला विश्वकप एसियाली छनौट, महिला एसिया कप हुँदै सन् २०१७ को महिला विश्वकप एसियाली छनौटसम्म आइपुग्दा नेपालको महिला निरन्तर ओरालो छ ।
अब नेपाली महिला क्रिकेटको विकासमा सरकार गम्भीर बन्ने बेला आएको छ । महिला क्रिकेटको घरेलु संरचनाको जग बनाउन जरुरी भईसकेको छ ।
‘विद्यालयमा महिला क्रिकेटका गतिविधि छैनन् । क्रिकेट खेल्न चाहना बोकेका सम्भावनालाई अवसर दिन सकेका छैनौ । त्यसैले ग्रासरुटबाट महिला क्रिकेटलाई अगाडी बढाउन आवश्यक छ ।’ प्रशिक्षक बस्नेत भन्छन् ।