एजेन्सी । युरोपा लिग फुटबलमा इटालियन क्लब एसी मिलानले साँघुरो जित दर्ता गरेको छ । बिहिबार राति भएको समूह चरणको पहिलो खेलमा मिलानले लक्समवर्गको डुडलंज क्लबलाई १ - ० ले हरायो ।
युरोपा लिग विजयी सुरुवात गर्ने क्रममा मिलानले डुडलंजलाई उसैको मैदानमा हराएको हो । मिलानको जितमा गोन्जालो हिगुईनले निर्णायक गोल गरे । यसै सिजन क्लब आएका हिगुईनले खेलको ५९ औं मिनेटमा गोल गर्दै मिलानलाई साँघुरो जित दिलाए ।
जितसंगै समूह 'एफ' को मिलानले ३ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा छ । यसै समूहको अर्को खेलमा ओलम्पिकास र रियल बेटिसले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।