एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई च्याम्पियन्स लिग फुटबलमा एक खेलको प्रतिबन्ध लागेको छ ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा स्पेनिस क्लब भ्यालेन्सियाविरुद्धको खेलमा रातो कार्ड पाएपछि रोनाल्डोले एक खेलको प्रतिबन्ध भोग्नु परेको गार्जियनले जनाएको छ । बुधबार राति भ्यालेन्सियालाई २ - ० ले हराएको खेलमा रोनाल्डोले रातो कार्ड पाएका थिए ।
युभेन्ट्सबाट च्याम्पियन्स लिगमा डेब्यु गरिरहेका रोनाल्डोले खेलको २९ औं मिनेटमा रातो कार्ड पाएका थिए । पोर्चुगिज फरवार्ड रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर जेइसन मुलिरोलाई कपालमा समातेर जगल्टाउन खोजेपछि रेफ्रीले रातो कार्ड दिएका थिए ।
पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले पहिलोपटक च्याम्पियन्स लिगमा रातो कार्ड पाएका थिए । स्पेनिस क्लब रियल मड्रिडलाई लगातार चार सिजन च्याम्पियन्स लिगको उपाधि जिताउन सफल रोनाल्डोले युभेन्ट्समा डेब्यु खेलमै रातो कार्ड पाएका हुन् ।
मुलिरोलाई दुर्व्यवहार गरेर रातो कार्ड पाएपछि युरोपियन फुटबल एसोसियसनले रोनाल्डोलाई एक खेलको प्रतिबन्ध लगाएको हो । अब रोनाल्डोले योङ ब्वाइजविरुद्धको खेल गुमाउने छन् । युभेन्ट्सले अक्टोबर २ मा योङ ब्वाइजविरुद्ध खेल्नेछ ।
तर, रोनाल्डो पुर्व इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा भने फर्कने गार्जियनले जनाएको छ । अक्टोबर २४ मा हुने उक्त खेल युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । रोनाल्डोले युनाइटेडबाट ६ वर्ष खेलेका थिए ।