काठमाडौं । हातको चोटको कारण एसिया कप छनोट खेल गुमाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषवाकर प्रशिक्षणमा फर्किएका छन् ।
मलेसियामा आयोजना हुने आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोट 'बी'का लागि प्रारम्भिक टोलीमा परेपछि शरद प्रशिक्षणमा आएका हुन् । एसिया छनोट आगामी अक्टोबरमा ३ देखि १२ सम्म आयोजना हुँदैछ ।
छनोटका लागि नेपाली टोलीले बिहिबारबाट बन्द प्रशिक्षण सुरु गरेको हो । र, पहिलो दिनको अभ्यास शरद नेपाली टोलीमा सामेल भएका थिए ।
शरद गत साउनमा नेदरल्याण्डविरुद्धको एकदिवसीय सिरिजको दौरान घाइते भएका थिए । त्यसपछि शरद टिमबाहिर रहदै आएका थिए । हातको औलाको चोट ठिक भएपछि शरद नेपाली टोलीमा फर्किएका हुन् ।
शरदको दाहिने हातको कान्छी औलामा चोट लागेको थियो । नेदरल्याण्डविरुद्धको पहिलो खेलमा चोट बोकेका शरदले दोस्रो खेल खेलेका थिएनन् ।