काठमाडौं । चर्चित फरवार्ड तथा नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान अनिल गुरुङलाई ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबले औपचारिक रुपमा क्लबमा भित्राएको छ ।
थ्री स्टारले बिहिबार आधिकारिक सामाजिक संजाल फेसबुकबाट पुर्व कप्तान अनिललाई सार्वजनिक गरेको हो । पछिल्लो समय लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबका कप्तान समेत रहेका अनिलले एक साता यताबाट क्लबमा प्रशिक्षण गरिरहेका थिए ।
थ्री स्टारले क्लबको जर्सीसहित अनिलको तस्विर राख्दै भनेको छ, 'अनिल गुरुङलाई थ्रीस्टार क्लबमा स्वागत छ ।'
अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरिसकेका अनिलले असोज दोस्रो साताबाट सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिगमा थ्री स्टारको जर्सी लगाउने छन् । अनिलले गत नोभेम्बर १५ मा फिलिपिन्ससंगको खेलपछि राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए ।
थ्री स्टारले नयाँ सिजनको लिग फुटबलका लागि अनिललाई क्लबमा भित्राएको हो ।
पोखराको साहारा क्लबबाट फुटबल करियर सुरु गरेका उनले ब्रिगेट ब्वाईज, थ्रीस्टार, मनाङ मस्र्याङ्दी, न्युरोड टिम एनआरटीबाट खेलिसकेका छन् । उनले भारतको शीर्ष डिभिजनको क्लब सिलोङ लाजोङबाट समेत ब्यवसायीक फुटबल खेलेका थिए ।