काठमाडौं । बंगलादेशमा हुने पाँचौ संस्करणको बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप फुटबलको पहिलो खेलमा नेपालले ताजकिस्तानसंग खेल्ने भएको छ ।
बंगलादेश फुटबल फेडेरेसनले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्द्वी ताजकिस्तान परेको हो । समूह 'ए' मा रहेको नेपालले ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसंग अक्टोबर ६ मा खेल्नेछ ।
६ टोलि रहने प्रतियोगिताको समूह 'बी' मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेको छ । आयोजकले समूह विभाजन भने गत भदौमै गरेको थियो । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।
बंगलादेशको राष्ट्रिय पिता बंगबन्धु शेख मुजिकुर रहमानको स्मृतिमा हुने प्रतियोगितामा नेपाल साबिकको विजेता हो । नेपालले फाइनलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । फाइनलमा विमल घर्तीमगर,नवयुग श्रेष्ठ र बिशाल राईले गोल गरेका थिए ।