एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बुधबार राति भएको समूह चरणको पहिलो खेलमा युनाइटेडले स्विस क्लब योङ बोइजलाई ३ - ० ले हराएको हो ।
योङ बोइजको घरेलु मैदानमा भएको खेलमा पाउल पोग्बाले दुई गोल गरेपछि युनाइटेडले सहज जित निकालेको हो । यस्तै युनाइटेडका लागि थप एक गोल एन्थोनी मार्सियलले गरे ।
पहिलो हाफको ३१ औं मिनेटमा पोग्बाले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा पाएको पेनाल्टीमा पोग्बाले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २ - ० ले अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ६६ औं मिनेटमा मार्सियलले गोल गरेपछि युनाइटेडले ३ - ० को सहज जित निकाल्यो ।
यो जितसंगै समूह 'एच' को युनाइटेडले महत्वपूर्ण ३ अंक जोडेको छ । यस समूहको तालिकामा युनाइटेड शीर्ष स्थानमा छ । समान अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा छ ।