एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमै पराजित भएको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको पहिलो खेलमा सिटी फ्रेन्च क्लब लियोनसंग २ - १ ले स्तब्ध भएको हो ।
लियोनले सिटीलाई उसैको घरेलु मैदानमा हराएको हो । लियोनलाई जित दिलाउन म्याक्सवेल कर्नेट र नबील फेकिरले एक एक गोल गरे । सिटीका बर्नार्डो सिल्भाले एक गोल फर्काए ।
इतिहाद स्टेडियममा खेलको २६ औं मिनेटमा कर्नेटले गोल गर्दै लियोनलाई सुरुवाती अग्रता दिलाए । ४३ औं मिनेटमा फेकिरले गोल गर्दै लियोनलाई २ - ० को अग्रता दिलाए ।
पहिलो हाफमा २ - ० ले पछि परेको सिटी दोस्रो हाफमा खेलमा फर्कने प्रयास गर्यो । खेलको ६७ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई खेलमा फर्काउने कोशिस गरे । तर, त्यसपछि सिटीले थप गोल गर्न सकेन र पहिलो खेलमै लियोनसंग २ - १ ले पराजित भयो ।
सिटीलाई घरेलु मैदानमा हराएसंगै समूह 'एफ' मा लियोनले ३ अंक जोडेको छ । र, लियोन समूहको शीर्ष स्थानमा छ । पराजित सिटी अंकबिहिन रहदै लिगको पुछारमा छ ।
यसै समूहको अर्को खेलमा होफेनहाइमले शख्तर डोनेस्कसंग २ - २ गोलको बराबरी खेल्दै अंक बाडेको ।