एजेन्सी । युएईमा जारी एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको हो ।
यो जितसंगै समूह 'ए' को भारतले सुपर चारमा स्थान बनाएको छ । भारतले २ खेलबाट ४ अंक जोड्यो । पराजित पाकिस्तान पनि सुपर चारमा पुग्न सफल भयो । पाकिस्तानको २ अंक रह्यो । यस समूहबाट हङकङ दुवै खेल हारेर समूह चरणबाट बाहिरियो ।
अब भारतले सुपर चारको पहिलो खेलमा बंगलादेशसंग खेल्नेछ । पाकिस्तानले अफगानिस्तानसंग खेल्नेछ । सुपर चारमा रहने चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन् ।
दुबई क्रिकेट स्टेडियममा पाकिस्तानले दिएको १६३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले २९ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
भारतको जितमा रोहित शर्माले ५२ रनको अर्धशतकीय इनिङस खेले । यस्तै शिखर धवनले ४६ रन जोड्दा अम्बाती रायडु र दिनेश कार्तिकले अविजित ३१/३१ रन बनाए ।
पाकिस्तानका शादब खान र फाहिम आश्रफले १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४३ ओभर १ बलमा अलआउट हुँदै १६२ रनमा समेटिएको थियो । पाकिस्तानका लागि बाबर आजमले ४७ तथा सोएब मलिकले ४३ रन जोडे ।
त्यस्तै फाहिम आश्रफले २१ रन जोड्दा मोहमद अमीरले अविजित १८ रन बनाए । भारतका भुवनेश्वर कुमार र केदार जादबले ३/३ विकेट लिए । जस्प्रित बुम्राहले २ विकेट झारे ।