काठमाडौं । आगामी कार्तिकमा हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बुधबार प्रेश विज्ञप्तिबाट अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया सुरु भएको जनाएको हो । खेलाडी दर्ता प्रक्रिया एक सातासम्म रहनेछ । खेलाडीले आजैको दिनबाट असोज ९ गतेसम्म नाम दर्ता गराउन सक्नेछन् ।
खेलाडीले लिगको अधिकारिक वेबसाइट www.ppl-t20.com बाट आफ्नो नाम दर्ता गराउन सक्नेछन् । खेलाडीले दर्ता शुल्कवापत एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । उक्त रकम इ-सेवाबाट बुझाउन सकिने समेत आयोजकले बताएको छ ।
पीपीएलका लागि खेलाडीले आफ्नो श्रेणी अनुसार रहेर नाम दर्ता गर्नु पर्ने हुन्छ । पीपीएलका लागि आयोजकले क्याप्ड सिनियर, क्याप्ड एज लेभेल र अनक्याप्ड खेलाडी गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।
क्याप्ड सिनियरमा नेपाली सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी रहने छन् । अक्सनमा यस श्रेणीका खेलाडीको न्युनतम मुल्य ५० हजार देखि २ लाख ५० हजारसम्म रहनेछ ।
यस्तै क्याप्ड एज लेभेलमा नेपाली टोलीबाट उमेर समूहका प्रतियोगिता खेलिसकेका खेलाडी रहनेछन् । यस श्रेणीका खेलाडीको न्युनतम मूल्य ५० हजार देखि १ लाख ५० हजारसम्म रहनेछ । त्यस्तै अनक्याप्ड खेलाडी न्युनतम मूल्य ३० हजार देखि १ लाख सम्म रहेको छ ।
अक्सनबाट सहभागी टोलीले १५ देखि १८ खेलाडी किन्न पाउनेछन् । यस्तै प्रत्येक टोलीले १ मार्की खेलाडी, २ विदेशी खेलाडी र २ स्थानीय खेलाडी अनुबन्ध गर्नु पर्नेछ ।
सर्वाधिक पुरस्कार राशीको हुने लिग कार्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा संचालन हुनेछ । लिगमा एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग खेल्ने ६ टोली र ३ नयाँ टोलीले यो प्रतियोगितामा सहभागिता जनाउने छन् ।