काठमाडौं । असोज दोस्रो साताबाट सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उद्घाटन खेलमा न्युराेड टिम एनअारटी र विभागीय टोली त्रिभुवन अार्मी क्लब भिड्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार निकालेको खेल तालिका अनुसार उद्घाटन खेलमा एनआरटी र आर्मीले प्रतिस्पर्धा गर्ने भएको हो ।
एनआरटी र आर्मीबीचको उद्घाटन खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । पहिलो चरणको खेल अन्तर्गत रहेको उद्घाटन खेल अपरान्ह ३ बजे सुरु हुने एन्फाले जनाएको छ । पहिलो दिन उद्घाटन खेल मात्र हुनेछ ।
दोस्रो दिनबाट दुई खेल हुनेछ । पहिलो चरणमा ७ खेल हुनेछ ।
पहिलो चरणको खेल तालिका :
असोज १३ : एनआरटी क्लब भर्सेस त्रिभुवन आर्मी क्लब
असोज १४ : ब्रिगेड ब्वाइज क्लब भर्सेस मनाङ मर्स्याङ्दी क्लब
असोज १४ : मछिन्द्र क्लब भर्सेस च्यासल युथ क्लब
असोज १५ :फ्रेन्ड्स क्लब भर्सेस थ्री स्टार क्लब
असोज १५ :जावलाखेल युथ क्लब भर्सेस नेपाल पुलिस क्लब
असोज १६ : हिमालयन शेर्पा भर्सेस एपीएफ क्लब
असोज १६ सरस्वती युथ क्लब भर्सेस संकटा युथ क्लब
रेलिगेसन नहुने लिग माघ १६ सम्म हुनेछ । लिगमा १४ 'ए' डिभिजन क्लबले खेल्ने छन् । जसमा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा,मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्ने छन् ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ ।
लिगको विजेताले ५० लाख पाउने जानकारी दिएको हो । यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख पाउने जनाएको छ ।
त्यस्तै लिगको चौथो टोलीले १५ लाख, पाँचौ टोलीले ७ लाख र छैटौंले ५ लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् ।
लिगको तयारीको लागि एन्फाले क्लबलाई २० लाख उपलब्ध गराउने छ ।
'ए' डिभिजन लिग चार बर्षपछि हुन् लागेको हो । पछिल्लो पटक बिस २०७१ सालमा 'ए' डिभिजन लिग भएको थियो ।