एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिगको समूह चरणमा विजयी सुरुवात गरेका छन् ।
समूह चरणको पहिलो खेलमा मंगलबार राति एट्लेटिकोले फ्रान्सको मोनाको र डर्टमण्डले बेल्जियमको क्लब ब्रुग केभीलाई हराएको हो ।
एट्लेटिकोले मोनाकोलाई उसैको मैदानमा २ - १ ले पराजित गर्यो । एट्लेटिकोलाई जित दिलाउन डिएगो कोष्टा र जोसे गिमिनेजले एक एक गोल गरे । मोनाकोका सामुएल ग्राण्डसरले एक गोल फर्काए ।
जितसंगै समूह 'ए' मा एट्लेटिकोले महत्वपूर्ण ३ अंक जोडेको छ ।
यसै समूहको अर्को खेलमा डर्टमण्डले ब्रुगलाई १ - ० ले हराएको हो । डर्टमण्डको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक एक गोल गरे । जितपछि डर्टमण्डले ३ अंक जोडेको छ ।
यस समूहमा मोनाको र ब्रुग अंकबिहिन रहेका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत नै समूह 'डी' मा गालातासारेले लोकमोतिभ मस्कोलाई ३ - ० ले स्तब्ध बनायो । यसै समूहको शाल्के र पोर्टोले भने एक एक गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।