काठमाडौं । विभागीय टिम एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर-११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
अब एपीएफले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको १ सय ७८ रनको लक्ष्य एपीएफले ४४ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफको जितमा सन्दीप जोरा र कप्तान शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेले ।
शरदले अविजित रहदै ६१ रन बनाउँदा सन्दीप ६२ रनमा अविजित रहे ।
यस्तै शंकर रानाले ३१ रन जोड्दा भुवन कार्कीले ११ रन बनाए । पवन सर्राफ भने सुन्य रनमा आउट भए ।
काठमाडौंका कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो ।
काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए ।
यस्तै हरिशंकर साहले ३६ रन जोड्दा खडक बोहराले १३ रन बनाए ।
बिक्रम भुसालले २० रन जोडे भने कप्तान सन्दीप लामिछाने ११ रनमा आउट भए ।
एपीएफका कमल सिंह ऐरी र अविनास बोहराले ३/३ विकेट लिए ।
यस जितसँगै एपीएफले ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो ।
एपीएफ दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।
पुलिसले पनि ४ खेलमा ३ जितसहित ६ अंक जोडेर फाइनलमा पक्का गरेको हो ।
पुलिस नेट रन रेटको आधारमा पुलिस भन्दा अघि रहेको हो ।
पाँच टिम सहभागी प्रतियोगिताको शीर्ष दुई टिमले फाइनल खेल्ने नियम रहेको छ ।