काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले बंगबन्धु गोल्डकपको तयारी अघिल्लो संस्करणको पुरस्कार रकम प्राप्त भएपछि मात्र सुरु गर्ने बताएको छ । प्रतियोगिता सुरु हुन दुई हप्ता मात्र बाँकी रहदाँ नेपालले अहिलेसम्म तयारी अघि बढाएको छैन । एन्फाले अघिल्लो संस्करणको प्रतियोगिता जितेको पुरस्कार रकम आएपछि मात्र तयारी अगाडी बढाउने स्पष्ट पारेको छ ।
नेपालले गत बर्ष बंगबन्धुको उपाधि जितेपनि आयोजक बङ्गलादेश फुटबल फेडेरेसनले अझै पुरा पैसा दिएको छैन । एन्फाका प्रवक्ता किरण राईले बंङ्गलादेश फुटबल फेडेरेसनले बाँकी पैसा उपलब्ध भएपछि मात्र तयारी अघि बढ्ने खेलपाटीलाई बताए ।
बंगलादशेले आगामी २८ तारिकभित्र बाँकी पैसा एन्फाको खातामा हालिदिने प्रतिबद्धता जनाएको छ । सोही कारण नेपालले बंगबन्धु प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको थियो । तर बंगलादेशले २८ तारिक भित्र पैसा उपलब्ध नगराए प्रतियोगिता नखेल्ने एन्फाको तयारी छ ।
प्रतियोगिता अगामी अक्टोबर १ देखि १२ सम्म बङ्गलादेशको राजधानी ढाकामा हुदैछ । नेपाल बङ्गबन्धु गोल्डपकको साविक विजेता टोली पनि हो । दुई समुह रहेको प्रतियोगितामा नेपाल समुह ए मा परेको छ । नेपालको समुहमा प्यालेस्टाइन र ताजकिस्तान रहेका छन् ।