काठमाडौं । नेपालले बुधबार बलियो टोली फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दै एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोटको सुरुवात गर्दैछ ।
छनोटको समूह 'ई' मा रहेको नेपालले फिलिपिन्सविरुद्ध हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफ क्लबको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
घरेलु मैदानमा हुने छनोटमा फिलिपिन्सविरुद्ध प्रतिस्पर्धाका लागि नेपाली टोली तयार रहेका छन् । फिलिपिन्ससंग मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
फिलिपिन्ससंगको खेलअघि नेपाली टोलीका प्रशिक्षक गंगा गुरुङले बलियो फिलिपिन्सलाई कडा टक्कर दिने बताईन् ।
प्रि म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक गुरुङले भनिन् , 'हाम्रो टिम निकै अनुशासित रहेको छ । हाम्रो टिम वर्क राम्रो छ । घरेलु मैदानमा फिलिपिन्ससंग राम्रो खेल्दै खेल प्रतिस्पर्धात्मक बनाउने छौं ।'
यू-१६ महिला टोलीले पहिलोपटक फिलिपिन्ससंग खेल्न लागेको हो । र, नेपालले यस छनोटको लागि विगत दुई महिनाबाट तयारी गरिरहेको थियो । नेपाली टोलीमा भुटानमा सम्पन्न यू-१५ साफ च्याम्पियनसिप खेलेका खेलाडीको बाहुल्यता रहेको छ ।
खेलाडीहरुले एकै टिमबाट नियमित खेलेकै कारण टिम मजबुद रहेको प्रशिक्षक गुरुङको भनाई छ । 'साफ च्याम्पियनसिप खेलेका र नयाँ खेलाडीबीचको तालमेल राम्रो छ । हामीले २ महिनाबाट तयारी गरेका छौं, टिम राम्रो बनेको छ,' उनले भनिन् ।
तर, प्रशिक्षक गुरुङले नेपाली टोलीले प्राकृतिक घाँसे मैदानमा कम तयारी गरेको कारण समस्या हुने बताईन् ।
यस्तै नेपाली टोलीका कप्तान प्रिति राईले तयारी राम्रो रहेको कारण खेलाडीले मैदानमा शतप्रतिशत खेल्नेबताईन् । कप्तान राईले भनिन् , 'अहिलेको टिम साफको भन्दा बलियो छ । हामी मानसिक रुपमा तयार छौ । मैदानमा शतप्रतिशत खेल्ने छौं ।'
त्यस्तै नेपालले दोस्रो खेलमा म्यानमारसंग शुक्रबार खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासंग आगामी आइतबार खेल्नेछ ।
समूहको शीर्ष दुई टोलीले अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी यू-१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् ।
आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भईसकेका छन् ।