काठमाडौं । भारतमा जारी चौकोणीय यू–१९ एकदिवसीय क्रिकेट सिरिजको तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जितका लागि २४५ रनको लक्ष्य पाएको छ ।
लखनउस्थित एकाना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २४४ रन जोड्दै नेपाललाई फराकिलो लक्ष्य दिएको हो ।
अफगानिस्तानको लागि रियाज हसनले अविजित ११७ रनको शतकीय इनिङस खेले । उनले १४९ बलमा १२ चौका र २ छक्का प्रहार गरे । यस्तै अफगानिस्तानका लागि बसीर खान सिरले ३२ तथा आरिफ खानले २४ रन जोडे । नेपालका पवन शारफ, सागर ढकाल र संसद आलमले २/२ विकेट लिए ।
सिरिजको फाइनल पुग्न असफल नेपालले तेस्रो स्थानको लागि अफगानिस्तानसंग प्रतिस्पर्धा गरिरहेको हो । सिरिजको फाइनलमा अहिले नै भारतको 'ए' र 'बि' टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
आज अफगानिस्तानविरुद्ध नेपाल लगातार दोस्रो जितसहित तेस्रो स्थान हासिल गर्ने लक्ष्यमा रहेको छ । यता, अफगानिस्तान अघिल्लो खेलमा हारको बदला लिने योजनामा रहेको छ ।
यसअघि नेपालले आइतबार अफगानिस्तानलाई २५ रनले हराएको थियो । त्यसअघि नेपाल भारतको 'ए' र 'बि' टोलीसंग हारेको थियो । सिरिजको अंक तालिकामा तेस्रो स्थानमा रहेको नेपालले २ अंक जोडेको छ ।
अंकविहिन रहदै पुछारमा रहेको अफगानिस्तानले भने अघिल्ला तीनै खेल गुमाएको थियो । भारतको 'ए' टिम शतप्रतिशत जितसहित अंक तालिकाको शीर्ष स्थानमा रहदा एक खेल गुमाएको 'बि' टिम दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेका हुन् ।