काठमाडौं । भारतमा जारी चौकोणीय यू–१९ एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत नेपालले अहिले अफगानिस्तानसंग प्रतिस्पर्धा गरिरहेको छ ।
सिरिजको फाइनल पुग्न असफल नेपालले तेस्रो स्थानको लागि अफगानिस्तानसंग प्रतिस्पर्धा गरिरहेको हो । सिरिजको फाइनलमा अहिले नै भारतको 'ए' र 'बि' टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
लखनउस्थित एकाना स्टेडियममा अफगानिस्तानविरुद्ध नेपालले सुरुवातमा बलिङ गरिरहेको छ । अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ मौका पाएको हो ।
अफगानिस्तानविरुद्ध नेपाल लगातार दोस्रो जितसहित तेस्रो स्थान हासिल गर्ने लक्ष्यमा रहेको छ । यता, अफगानिस्तान अघिल्लो खेलमा हारको बदला लिने योजनामा रहेको छ ।
यसअघि नेपालले आइतबार अफगानिस्तानलाई २५ रनले हराएको थियो । त्यसअघि नेपाल भारतको 'ए' र 'बि' टोलीसंग हारेको थियो । सिरिजको अंक तालिकामा तेस्रो स्थानमा रहेको नेपालले २ अंक जोडेको छ ।
अंकविहिन रहदै पुछारमा रहेको अफगानिस्तानले भने अघिल्ला तीनै खेल गुमाएको थियो । भारतको 'ए' टिम शतप्रतिशत जितसहित अंक तालिकाको शीर्ष स्थानमा रहदा एक खेल गुमाएको 'बि' टिम दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेका हुन् ।
बंगलादेशमा आयोजना हुने एसिया कप क्रिकेटको तयारीको रुपमा भारतीय क्रिकेट बोर्डले आयोजना गरेको सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।