एजेन्सी । श्रीलंका युएईमा जारी एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार राति भएको समूह चरणको दोस्रो खेलमा अफगानिस्तानसंग ९१ रनले पराजित हुँदै श्रीलंका समूह चरणबाटै बाहिरिएको हो ।
अबुधाबीमा अफगानिस्तानले दिएको २५० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका ४१ ओभर २ बलमा अलआउट हुँदै १५८ रनमा समेटियो । योसंगै श्रीलंका एसिया कपबाट बाहिरिने पहिलो टोली बनेको छ । पहिलो खेलमा श्रीलंका बंगलादेशसंग पराजित भएको थियो ।
अफगानिस्तानले दिएको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाका लागि उपुल थरंगाले ३६ तथा थिसरा परेराले २८ रन जोडेपनि टोलीको हार टार्न सकेनन् ।
श्रीलंकालाई सस्तैम समेट्न अफगानिस्तानका मुजिब उर रहमान, गुल्बदीन नाईब, मोहमद नाबी र राशिद खानले समान २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै ५० ओभरमा अलआउट हुँदै २४९ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमत साहले ७२ रनको अर्धशतकीय इनिङस खेल्दा इशानउल्लाह जनतले ४५ रन जोडे ।
श्रीलंकाका थिसरा परेराले ५ तथा अकिला धनन्जयले २ विकेट लिए ।
यो जितसंगै समूह 'बि' को अफगानिस्तानले १ खेलबाट २ अंक जोडेको छ । र, अफगानिस्तानले एक खेल बाँकी रहदै सुपर चारमा स्थान पक्का गरेको छ । अब अफगानिस्तानले बंगलादेशसंग खेल्नेछ । श्रीलंका अंकविहिन रहदै घर फर्कियो ।