काठमाडौं । आगामी बुधबारबाट काठमाडौमा सुरु हुने एएफसी यु १६ महिला च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार पत्रकारसम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले प्रतियोगिता खेल्ने सम्पुर्ण टोली नेपाल आईपुगेको र बुधबारबाट समुह चरणका खेलहरु सुरु हुने बताए । प्रतियोगिता अन्तर्गत समुह ईमा रहेको नेपालले समुह चरणमा फिलिपिन्स, म्यानमार र मलेसियासंग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै, एन्फाले प्रतियोगिताका खेल्ने २३ सदस्यीय नेपाली टोलीको नाम सार्वजनीक समेत गरेको छ ।
नेपाली टोलीमा गोलकिपरमा सावित्री किसान, पुजा थापा, करिना धिमाल छन् । त्यस्तै, डिफेन्समा खुस्मा राई, पुष्पा गुरुङ, सजना ठोकर, भावना थापा, सुरक्षा सिंह, सविना चौधरी र मनमाया परियार रहेका छन् ।
मिडफिल्डमा प्रिति राई, रजनी राना मगर, सुरक्षा सुखरीया, मुना मगर, सविता राना मगर, सुष्मा तामाङ, अस्मिता चौधरी, मनिषा विष्ट र मनिका घर्तिमगर छन् ।
फरवार्डमा चन्द्रिका भण्डारी, श्रीषा कार्की, मन्दिरा राई र निकिता ठोकरले स्थान बनाएका छन् । नेपाली टिमको मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षकमा बिनोद महर्जन रहेका छन् ।
छनोटको सम्पूर्ण खेल हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हुनेछ ।
नेपालले छनोटको पहिलो खेलमा सेप्टेम्बर १९ मा फिलिपिन्ससंग खेल्नेछ । त्यस्तै दोस्रो खेलमा नेपालले म्यानमारसंग सेप्टेम्बर २१ मा खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासंग सेप्टेम्बर २३ मा खेल्नेछ ।
समूहको बिजेताले दोस्रो चरणको यात्रा तय गर्नेछन् । यस्तै छनोटमा सहभागी ६ समूहको उपविजेता मध्ये उत्कृष्ट २ टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन् ।
दोस्रो चरणको छनोटमा बिजेता बन्ने चार टोलीले अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी यू-१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् ।
आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भईसकेका छन् ।