एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्ट्सका लागि गोल गर्न नसक्दा आफुलाई तनाव भएको बताएका छन् ।
स्पेनिस क्लब रियल मड्रिडबाट यसै सिजन युभेन्ट्स आएका रोनाल्डोले अघिल्ला तीन खेलमा गोल गर्न सकेका थिएनन् । तर, चौथो खेलमा रोनाल्डोले दुई गोल गरेका थिए ।
रोनाल्डोले दुई गोल गरेपछि आइतबार युभेन्ट्सले सासुलोलाई २ - १ ले हराएको थियो । खेलपछि मिडियासंग कुरा गर्दै रोनाल्डोले क्लबको लागि राम्रो सुरुवात गर्न पाउदा खुसी रहेको बताए ।
आफु इटालियन फुटबलसंग अभ्यस्त हुन खोजिरहेको बताउदै ३३ बर्षिय स्ट्राइकर रोनाल्डोले भने, 'यो फुटबल हो, मुख्य कुरा टिमको जित हुन्छ । पक्कै पनि मलाई हल्का तनाव थियो । गोल हुन सकेको थिएन । सबैले रियल मड्रिडको कुरा गरिरहेका हुन्थे । तर, म टिमका साथीहरुलाई सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।'
रोनाल्डोले खेलको ५० औं र ५६ औं मिनेटमा गरी दुई गोल गरेका थिए । यस गोलसंगै रोनाल्डोले करियरको ४ सयौं लिग गोल पुरा गरेका थिए । यस्तै रोनाल्डोको यो करियरको ६६० औं गोल गर्न सफल भए ।
रोनाल्डोले सासुलोविरुद्ध गोलसंगै आफुले आफ्नो लक्ष्य पाएको समेत बताए । 'सासुलोले उत्कृष्ट डिफेन्स गर्यो तर हामी जितका लागि योग्य थियौं । वास्तवमा म गोल गर्न खोजीरहेको थियो । म खुसी छु मैले गोल पाए,' रोनाल्डोले भने ।
यस्तै रोनाल्डोले च्याम्पियन्स लिग आफ्नो मनपर्ने प्रतियोगिता रहेको बताए ।
रोनाल्डोले भने, 'च्याम्पियन्स लिग मेरो मनपर्ने प्रतियोगिता हो । यो सिजन हामी कठिन समूहमा छौं । हामीलाई थाहा छ हामी राम्रो गर्न सक्छौं । युभेन्ट्स उत्कृष्ट प्रदर्शनमा केन्द्रित हुनेछ ।'