एजेन्सी । इन्ग्लिश क्लब चेल्सीका प्रशिक्षक माउरिसीयो सारीले आफ्ना फरवार्ड इडेन हाजार्ड युरोपको उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
बेल्जीयमका २७ बर्षिय हाजार्डले प्रिमियर लिग अन्तर्गत शनिबार कार्डिफ सिटीविरुद्ध ह्याट्रिक गरेका थिए ।
साढे चार बर्षपछि प्रिमियर लिगमा ह्याट्रिक गरेका हाजार्डको प्रदर्शनबाट मख्ख परेका सारीले भने, 'हाजार्ड युरोपको उत्कृष्ट खेलाडी रहेको मैले सोच्थे । तर, अहिले मैले मेरो माइन्ड परिर्वतन गरे । उनी सर्वोकृष्ट हुन् ।'
सारीले हाजार्डलाई अब अर्को ह्याट्रिक गर्न धेरै समय कुर्न नपर्ने समेत बताए । यस्तै सारीले १० नम्बर जर्सीमा मैदान उत्रने हाजार्डले यो पटक गोल्डेन बुटका लागि दाबेदारी दिनेमा विश्वस्त रहेको समेत बताए ।
'मैले हाजार्डलाई भनेको छु, यो पटक तिमीले लिगमा ४० गोल गर्न सक्छौ, तर त्यसका लागि उनले धेरै मेहेनत गर्नुपर्छ,' उनले भने । अघिल्लो सिजन चम्केका मोहम्मद सलाह जस्तै यस पटक हाजार्ड चम्कने प्रशिक्षक सारीको भनाई थियो ।
हाजार्डले क्लब र राष्ट्रको लागि खेलेको पछिल्लो ७ खेलमा गोल गर्नुका साथै गोलका लागि असिस्ट समेत गरेका छन् ।
प्रशिक्षक सारीले थपे , ' हाजार्डले विश्वकपबाट अहिलेसम्म निकै राम्रो खेल प्रर्दशन गरिरहेका छन् । उनी गोल गर्नमा जति माहिर छन् । त्यतिनै असिस्ट गर्न पनि माहिर छन् ।'