काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट आगामी असोजमा आयोजना हुने भएको छ ।
आयोजक ईपीएल क्रिकेटले आइतबार चौंथो संस्करणको प्रतियोगिता असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुने जनाएको छ ।
ईपीएलको यस मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत स्वीकृति दिएको छ ।
'हामीलाई क्यानले प्रतियोगिता आयोजनाको लागि अनुमति दिएको छ,' ईपीएलका एमडी आमिर अख्तरले भने, 'अहिले मिति घोषणा गरेका छौँ । बाँकी पछि विस्तारै जानकारी दिने छौँ ।'
चौंथो संस्करणको प्रतियोगिता यस अघि चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुने तय भएको थियो ।
तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित भएको थियो ।
कोरोनाले रोकिएको प्रतियोगितामा वेष्ट इण्डिजका क्रिस गेल,श्रीलंकाका उपुल थरंगा, केस्रिक विलियम्स, जर्ज मुन्से, केभिन ओ ब्रायन जस्ता चर्चित खेलाडीले खेल्ने तय भएको थियो ।
ईपीएलका एमडी अख्तरले आगामी सिजनमा समेत पहिले अनुबन्धित खेलाडीले खेल्ने बताए ।
'खेलाडीहरु पुरानै रहन्छ । अनुबन्धित खेलाडीले खेल्ने छन् । थप पछि आउने छ,' उनले भने ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।