एजेन्सी । ट्रिनिबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सिपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।
सोमबार बिहान भएको फाइनलमा ग्युएना एमाजन वारियर्सलाई ८ विकेटले हराएर नाइट राइडर्सले उपाधि जितेको हो ।
योसंगै नाइट राइडर्सले लगातार दोस्रो सिपीएल क्रिकेटको उपाधि जित्न सफल भयो । यस्तै नाइट राइडर्सले समग्रमा तेस्रो पटक उपाधि आफ्नो बनाउन सफल भएको छ ।
ब्रायन लारा क्रिकेट स्टेडियममा वारियर्सले दिएको १४८ रनको लक्ष्य नाइट राइडर्सले १७ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । नाइट राइडर्सको जितमा कोलिन मुन्रोले अविजित ६८ रनको अर्धशतकीय इनिङस खेले । यस्तै ब्रेनडन म्याकुलमले ३९ तथा दिनेश रामदीनले २४ रन जोडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वारियर्सले पुरै २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो । वारियर्सका लागि लुक रोन्चीले ४४ तथा जासन मोहमदले २४ रन बनाएका थिए ।