एजेन्सी । युएईमा जारी एसिया कप क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा पाकिस्तानले हङकङलाई ८ विकेटले पराजित गर्यो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हङकङले दिएको ११७ रनको लक्ष्य पाकिस्तानले २३ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
पाकिस्तानको जितमा इमाम उल हकले अविजित ५० रनको अर्धशतकीय इनिङस खेले । यस्तै बाबर आजमले ३३ तथा फकर जमानले २४ रन जोडे । हङकङविरुद्ध ३३ रन बनाएसंगै आजमले एकदिवसीय क्रिकेटमा करियरको २ हजार रन पुरा गरेका छन् । उनले ४५ खेलमा २ हजार रन पुरा गरेका हुन् ।
पाकिस्तानविरुद्ध हङकङका इसान खानले २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ३७ ओभर १ बलमा अलआउट हुँदै ११६ रनमा समेटिएको थियो । हङकङका लागि अजिज खानले २७, किनचिट साहले २६ तथा कप्तान अन्सुमान रथले १९ रन जोडे ।
हङकङलाई सस्तैमा समेट्न पाकिस्तानका उस्मान खानले ३ तथा हसन अली र शहदाब खानले २/२ विकेट लिए ।
जितसंगै समूह 'ए' को पाकिस्तानले महत्वपूर्ण २ अंक जोडेको छ । यता, हङकङले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।