पोखरा संवाददाता ।
बुबा भारतीय सेना थिए । सानैमा उनले बुबाको काख गुमाए ।
आमाको बाँकी जीवनको सारथी अब उनी मात्रै भए ।
उनी अर्थात राजन दर्लामी मगर ।
उनी घरको कान्छो छोरा थिए । आमालाई छोरा बिग्रने पिरलो थियो ।
छोरो गाउँ–घर नपुग्दै बिग्रेला भनेर आमाले हातमा भलिबल थमाइदिइन् ।
उनको सोच थियो, बल पाएपछि छोरो दिनभर खेलेर बस्छ । बाहिर बरालिँदैन, बिग्रिँदैन ।’
राजन पनि आमाले सोचे झैं दिनभर भलिबलमा भुल्न थाले, रम्न थाले ।
त्यही भलिबल स्याङ्जा चापाकोटका राजनको जीवन खोज्ने बाटो बन्यो ।
छोरा घरबाहिर निस्केर बिग्रिन्छ भन्ने पिरले आमाले सानैमा भलिबल थमाएकी थिईन्, त्यही भलिबल अहिले राजनको जीवन डोर्याउने साध्य बनेको छ ।
उनी त्यही भलिबललाई जीवनको सारथी बनाएर अघि बढिरहेका छन् ।
४९ साल कार्तिकमा स्याङ्जा चापाकोटमा जन्मिएका राजन गण्डकी प्रदेश भलिबल टिमको उत्कृष्ट खेलाडी गनिन्छन् । केही समय अघि पोखरामा सम्पन्न राष्ट्रिय स्तरको ‘ट्राइगर कप भलिबलमा उत्कृष्ट डिफेन्डरको उपाधि जित्न सफल उनी भलिबलमै जीवन खोजीरहेका छन्, संघर्ष गरिरहेका छन् ।
सानो उमेरबाटै भलिबलमा रुची राखेका राजनले परिवारबाट साथ र सहयोग प्राप्त गरे । तर गण्डकी प्रदेश र जिल्लामा खेलको राम्रो वातावरण नहुँदा अवसरबाट टाढा रहे ।
सात वर्षको उमेरबाट भलिबल खेल्दै आएका राजन अहिले व्यवसायीक भलिबल खेलाडी भनेर चिनिन्छन् ।
‘आमाले बाहिर हिँडेर बिग्रिन्छु कि भनेर पोखरा आउँदा भलिबल किनेर ल्याइदिनु हुन्थ्यो ।’ उनी सम्झिन्छन्, ‘म पनि आमाले भने जस्तै घरमै एक्लै हुँदा पनि भलिबल खेल्थें । पछि यही मेरो साथी बन्यो ।’
राजन ६३ सालदेखि भलिबल प्रतियोगितामा भाग लिन थालेका हुन् । सुरुमा ‘सेटर’ का रुपमा खेल जिवन सुरुवात गरेका उनी अहिले राम्रो डिफेन्डर भइसकेका छन् ।
भन्छन्, ‘भलिबलमा मेहेनत गरें । विभिन्न प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि पाउँदा खुसी लाग्छ ।’
जिल्ला र प्रदेश स्तरीय विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन दिन सफल राजन भविष्यलाई लिएर निराश छन् ।
अनिश्चित भविष्यको डरले गर्दा उनले खेल जीवन त्यागेर वैदेशिक रोजगारमा जाने सोच नबनाएका पनि हैनन्, तर भलिबललाई उनले त्याग्न सकेनन् ।
‘परिवारकै आड–भरोसाले भलिबलमा भविष्यमा पाइन्छ कि भन्ने आशा राखिरहें । यद्धपी यो आशा लकडाउनका समयमा निराशाको चरम विन्दुमा गएर अड्कियो ।’ उनी निराश सुनिन्छन्, ‘लकडाउनमा खेलको मात्रै भरोसा पर्दा साह्रै मारमा परेजस्तो भयो ।’
‘प्रतियोगिता खेल्न सुरु गरेपछि आर्थिक रुपमा घरमा निर्भर हुनु परेको थिएन तर लकडाउनको समयमा खेलाडीको भविष्य के हुने भन्नेबारे आफूले सोच्ने समय पाए ।’ उनी भन्छन् ।
‘त्यस समयमा महसुुस गरेको पीडाले खेलबाट विस्थापित हुन मन लाग्ने रहेछ । घरबाट खर्च दिएपनि माग्न अप्ठ्यारो हुने रहेछ ।’ उनी भन्छन् ।
लकडाउन अवधिलाई उनी एउटा पाठ र सिकाईको रुपमा लिन्छन् ।
‘खेलाडीले मात्र होइन, त्यो समयमा अधिकांश व्यक्तिले परिआएको अवस्थामा आर्थिक रुपमा सुरक्षित हुनुपर्ने सिकाई पनि दियो ।’ उनले भने ।
उनी सुनिश्चित भविष्यका लागि खेल बाहेक अन्य क्षेत्रमा लाग्ने मनसायमा पनि देखिए ।
‘परिवारको साथ पाए भन्दैमा नहुने रहेछ । उमेरसँगै जिम्मेवारी हुन्छ । त्यो पूरा गर्न नसके नरमाइलो लाग्ने रहेछ ।’ उनले सुनाए ।
तर अझैपनि राष्ट्रिय भलिबल खेलाडी बन्ने एउटा हुटहुटी उनमा कायमै छ ।
भलिबल राष्ट्रिय खेल भइसकेपछि सरकारले उचित ध्यान दिनुपर्ने उनको जोड छ । खेल क्षेत्रका निकायले भलिबल खेलाडीलाई पनि चासो देखाउनुपर्ने खाँचो रहेको उनी बताउँछन् ।
‘नेपालमा भलिबलको लोकप्रियता फुटबलको जस्तो अझैपनि छैन । भलिबल खेलाडीले अन्य खेलाडी जसरी केही सुविधा र साथ पाउन सकेका छैनन् ।’ उनले भने, ‘खेलाडीलाई हेर्न जिम्मेवारी खेलक्षेत्रको हो । राम्रो प्रदर्शन मात्र खोजेर हुदैन ।’
‘अधिकांश खेलाडीको प्रशिक्षण भनेको गाँउ घरमा बिहान र साँझ खेलिने भलिबल हो । जसबाट पुष्टि हुन्छ, अधिकांश खेलाडीले उचित प्रशिक्षणको अवसर समेत पाउँदैनन् ।’ उनी भन्छन्, ‘तर तीनैै खेलाडीबाट प्रतियोगिताको समयमा उपाधिको अपेक्षा राखिएको हुन्छ । खेलाडीको खोजी समेत प्रतियोगिताको समयमा मात्र हुन्छ ।’
७४ साल जेठ ८ गते मन्त्रीपरिषद्को बैठकले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि यसप्रतिको आकर्षण बढ्दो छ ।
अधिकांश रुपमा गाउँ–घरमा खेलिने भलिबलले राष्ट्रिय खेलको मान्यता पाएसंगै राष्ट्रिय स्तरमा समेत विस्तारै ख्याती पाउन थालेको हो ।
भौगोलिक पहुँच, देशका विभिन्न भागमा यसको लोकप्रियता र सबभन्दा बढी खेलिने खेलको रूपमा रहेका कारण सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको हो ।
भलिबलको अहिले ७७ वटै जिल्लामा जिल्ला संघ छन् । तर जिल्ला संघले खेलाडीलाई प्राथमिकतामा नराख्दा भलिबल खेल माथि उठ्न नसकेको देखिन्छ ।
राजन पनि स्याङ्जा भलिबल संघले खेलाडीलाई प्राथमिकतामा नराखेको गुनासो गर्छन् ।
‘भलिबल खेल्न थालेको यतिका समय भइसक्यो तर आजसम्म मैले जिल्ला भलिबल संघका पदाधिकारीलाई राम्रोसँग चिनेको छैन । खेलाडीका लागि केही गरेजस्तो नि लाग्दैन ।’ उनी भन्छन्, ‘बरु जिल्लाबाट बाहिर रहेका भलिबलप्रेमीले खेलाडीलाई सहयोग गर्नुहुन्छ ।’
उसो त यो समस्या स्याङ्जा जिल्लाको मात्र नभई समग्र गण्डकी प्रदेशकै हो । अझ भनौं देशभरकै हो । एक समय भलिबलको उर्वर भूमि मानिएको गण्डकी प्रदेश यतीबेला खेलाडीको संरक्षण गर्न सकिरहेको छैन । राम्रा खेलाडी विभागीय टिममा आबद्ध भएर संघर्ष गरिरहेका छन् ।
तस्बिर - भलिबल नेपाल