एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो चम्किएपछि इटालियन सिरी-ए फुटबलमा युभेन्ट्सले लगातार चौथो जित निकालेको छ । चौथो जित निकाल्ने क्रममा युभेन्ट्सले आइतबार भएको खेलमा सासुलोलाई २ - १ ले हराएको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन रोनाल्डोले दुवै गोल गरे । सासुलोका खौमा बाबकरले एक गोल फर्काए । खेलको तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । रोनाल्डोको यो युभेन्ट्सको लागि डेब्यु गोल हो ।रोनाल्डोले चार खेलपछि युभेन्ट्सका लागि गोल गरेका हुन् । अघिल्ला ३ खेलमा रोनाल्डो गोल गर्न असफल भएका थिए ।
खेलको ५६ औं मिनेटमा रोनाल्डो व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २ - ० को अग्रता दिलाए । योसंगै रोनाल्डोले करियरको ४ सयौं लिग गोल पुरा गरेका छन् । यस्तै रोनाल्डोको यो करियरको ६६० औं गोल हो ।
त्यसपछि खेलको ९० औं मिनेटमा सासुलोका बाबकरले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । यस्तै खेलको इन्जुरी समयमा डुल्गास कोस्टाले रातो कार्ड पाएपछि युभेन्ट्स केहि समय १० खेलाडीमा सिमित भएको थियो ।
यो जितसंगै युभेन्ट्सले ४ खेलबाट १२ अंक जोडेको छ । युभेन्ट्स शीर्ष स्थानमा रहेको छ । सासुलो ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।