एजेन्सी । पोर्चुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्समा आफ्नो पहिलो गोलको खोजीमा छन् ।
रोनाल्डोले तीन खेल खेल्दा डेब्यु गोल गर्न सकेका छैनन् । तर,युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले रोनाल्डोले सासुलोविरुद्धको खेलमा रोनाल्डोले गोल गर्ने भविष्यवाणी गरेका छन् ।
युभेन्ट्सले घरेलु मैदान टुरिनमा सासुलोसंग आइतबार प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल बेलुका ६:४५ बजे सुरु हुनेछ । सासुलोविरुद्धको खेलअघि प्रशिक्षक एलेग्रीले रोनाल्डोले गोल गर्ने बताए ।
प्रशिक्षक एलेग्रीले भने, 'रोनाल्डोले राम्रो गरिरहेका छन् र मलाई लाग्छ रोनाल्डोले सासुलोविरुद्धको खेलमा गोल गर्ने छन् ।'
पाँच पटकको बालोन डी'ओर विजेता रोनाल्डो स्पेनिस क्लब रियल मड्रिडबाट यसै सिजन युभेन्ट्स आएका थिए । रोनाल्डो उपस्थित रहेको तीन खेलमा युभेन्ट्सले जित निकालेपनि गोल गर्न सकेका छैनन् ।
तर, प्रशिक्षक एलेग्रीले रोनाल्डोले गोलको लागि प्रयास जारी राखेको बताए । उनले भने, ' युभेन्टसको पहिलो खेलमा रोनाल्डोले गोल पोस्टमा धेरै प्रहार गरे । तर गोलको जालि चुम्न भने सकेनन् ।'
सिजनको पहिलो खेलमा युभेन्ट्स चिभो भेरोनालाई ३–२ ले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा लाजिओलाई २–० ले पराजित गरेका युभेन्ट्सले तेस्रो खेलमा पर्मालाई २–१ ले हराएको थियो ।