एजेन्सी । स्विडेनका स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिचले करियरको ५ सयौं गोल पुरा गरेका छन् ।
अमेरिकी मेजर लिग सकर क्लब एलए ग्यालेक्सीका भेट्रान स्ट्राइकर इब्राहिमोभिचले आइतबार बिहान टोरन्टोविरुद्ध एक गोल गर्दै ५ सयौं गोलको कोशेढुंगा पुरा गरेका हुन् ।
३६ बर्षीय इब्राहिमोभिचले खेलको ४३ औं मिनेटमा राउण्डहाउस किकमा गोल गरेका थिए । जोनाथन सान्तोसको पासमा इब्राहिममोभिचले गरेको उक्त गोल अहिले निकै चर्चाको बिषय बनेको छ ।
सान्तोसले उपलब्ध गराएको एयर बलमा इब्राहिमोभिचले सहजै गोल गरेका थिए । तर, इब्राहिमोभिचले आफ्नो टोलीलाई जित दिलाउन भने सकेनन् । उनले पाँच सयौं गोलको कोशेढुंगा पार गरेको खेलमा ग्यालेक्सीले ५ - ३ ले गुमाएको थियो ।
इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट ग्यालेक्सी लागेका इब्राहिमोभिचले यो सिजन ग्यालेक्सीबाट २२ खेलमा १७ गोल गरिसकेका छन् ।
इब्राहिमोभिचले करियरको पाँच सय गोल पुरा गर्ने क्रममा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट सर्वाधिक धेरै गोल गरेका थिए । उनले पिएसजीबाट १५६ गोल गरेका थिए । त्यस्तै इब्राहिमोभिचले इन्टर मिलानबाट ६६, एसी मिलानबाट ५६, आयाक्सबाट ४८, म्यानचेस्टर युनाइटेडबाट २९, युभेन्ट्सबाट २६, बार्सिलोनाबाट २२ र माल्मोबाट १८ गोल गरेका छन् ।
इब्राहिमोभिचले राष्ट्रिय टोलीबाट ६२ गोल गरेका छन् ।