काठमाडौं । भारतमा जारी चौकोणीय यू-१९ एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएका छन् ।
लखनउमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो । सिरिज अन्तर्गत नेपालले अन्तिम खेलको रुपमा अफगानिस्तानसंग खेल्न लागेको हो ।
अघिल्ला दुई खेलमा पराजय बेहोरेको नेपाल अफगानिस्तानविरुद्ध उच्च स्कोर बनाउने लक्ष्यमा हुनेछ । यस्तै लगातार दुई हार बेहोरेको नेपाल र अफगानिस्तान पहिलो जितको खोजीमा हुनेछ ।
सिरिजको फाइनलमा पुग्न असफल दुवैको लागि यो खेल प्रतिष्ठाको लडाईको रुपमा रहने छ । यस खेलमा विजयी हुने टोलीले एक जितसहित घर फर्कने छन् ।
सिरिजको पहिलो खेलमा नेपाल भारतको 'बि' टोलीसंग पराजित भएको थियो । यस्तो शुक्रबार भएको दोस्रो खेलमा नेपाल भारतको 'ए' टोलीसंग ८ विकेटले पराजित भएको थियो ।
यता, अफगानिस्तान पहिलो खेलमा भारतको 'ए' टिम र दोस्रो खेलमा भारतको 'बि' टिमसंग पराजित भएको थियो ।
बंगलादेशमा आयोजना हुने एसिया कप क्रिकेटको तयारीको रुपमा भारतीय क्रिकेट बोर्डले आयोजना गरेको सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
सिरिजको फाइनलमा भारतको 'ए' र 'बि' टोलीले खेल्नेछन् ।
नेपाली टोली :
आशिफ शेख (कप्तान), लोकेस बम, सन्दीप जोरा,तृत राज दास,रित गौतम, भिम सार्की, अरुण ऐरी, कमल सिंह ऐरी, राशिद खान,किशोर महतो,सागर ढकाल, पवन शार्रफ