एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन वायर्न म्युनिखले लगातार तेस्रो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा वायर लिभरकुसेनलाई ३ - १ ले हराएर वायर्नले अपराजित यात्रा कायम राखेको हो ।
घरेलु मैदानमा भएको खेलमा वायर्नका लागि कोरेटिन टोलीसो, आर्जेन रोविन र जेम्स रोड्रीगेजले एक एक गोल गरे । लिभरकुसेनका वेनडेलले एक गोल गरे ।
एलिनाज स्टेडियममा वायर्नले एक गोलले पछि परेको स्थिति उल्टाएर जित निकालेको हो । खेलको पाँचौ मिनेटमा वेनडेलले गोल गर्दै लिभरकुसेनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको दशौं मिनेटमा टोलीसोले गोल गर्दै वायर्नलाई खेलमा फर्काए ।
खेलको १९ औं मिनेटमा रोविनले गोल गर्दै वायर्नलाई २ - १ को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा करिमले रातो कार्ड पाएपछि खेलको अन्तिम १० मिनेट लिभरकुसेन १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको ८९ औं मिनेटमा रोड्रीगेजले गोल गर्दै वायर्नलाई ३ - १ को सहज जित दिलाए ।
यो जितसंगै वायर्नले ३ खेलबाट ९ अंक जोडेको छ । लिभरकुसेनको यो लगातार तेस्रो हार हो । अंक बिहिन लिभरकुसेन पुछारमा रहेको छ ।