काठमाडौं । भारतमा जारी चौकोणीय यू-१९ एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले आज (आइतबार) अफगानिस्तानसंग प्रतिस्पर्धा गर्दैछ ।
लखनउमा हुने नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समय अनुसार बिहान ९:४५ मा सुरु हुनेछ । लगातार दुई हार बेहोरेको नेपाल र अफगानिस्तान पहिलो जितको खोजीमा हुनेछ ।
सिरिजको फाइनलमा पुग्न असफल दुवैको लागि यो खेल प्रतिष्ठाको लडाईको रुपमा रहने छ । यस खेलमा विजयी हुने टोलीले एक जितसहित घर फर्कने छन् ।
सिरिजको पहिलो खेलमा नेपाल भारतको 'बि' टोलीसंग पराजित भएको थियो । यस्तो शुक्रबार भएको दोस्रो खेलमा नेपाल भारतको 'ए' टोलीसंग ८ विकेटले पराजित भएको थियो ।
यता, अफगानिस्तान पहिलो खेलमा भारतको 'ए' टिम र दोस्रो खेलमा भारतको 'बि' टिमसंग पराजित भएको थियो ।
बंगलादेशमा आयोजना हुने एसिया कप क्रिकेटको तयारीको रुपमा भारतीय क्रिकेट बोर्डले आयोजना गरेको सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
सिरिजको फाइनलमा भारतको 'ए' र 'बि' टोलीले खेल्नेछन् ।