काठमाडौं । अखिल नेपाल फुटबल सघ एन्फाले सहिद स्मारक ए डिभिजन लिगमा विदेशी खेलाडीको कोटामा एक एशियन खेलाडी अनिवार्य गरेको छ । क्लवहरुले ४ विदेशी खेलाडी राख्न पाउने प्रावधानलाई परिमार्जन गर्दै एन्फाले एक एशियन खेलाडी राख्नैपर्ने नियम लागु गरेको छ ।
यसअघि क्लबहरुले कुनैपनि देशका ४ विदेशी खेलाडीलाई दर्ता गर्न पाउने र तीन जनालाई मैदानमा उतार्न पाउने नियम थियो । प्राय क्लबहरुले अफ्रिकन मुलका खेलाडीलाई विदेशी कोटामा भर्दै आएका थिए ।
तर अब नयाँ नियम अनुसार विदेशी खेलाडीको कोटामा एक एशियन खेलाडी राख्नैपर्ने बाध्यता क्लबहरुलाई सिर्जना भएको छ । क्लबहरुले अब एक एशियन सहित ४ विदेशी खेलाडी एन्फामा दर्ता गर्न पाउनेछन् । र कुनैपनि तीन खेलाडीलाई मैदानमा खेलाउन पाउनेछन् ।
साफमा नेपालको प्रस्ताव : एक एशियन खेलाडी अनिवार्य गरौ ।
अखिल नेपाल फुटबल सघ एन्फाले दक्षिण एशियाली राष्ट्रमा हुने घरेलु लिगमा एक एशियन खेलाडी राख्नैपर्ने प्रस्ताव पेश गरेको छ । साफका सदस्य राष्ट्रले आयोजना गर्ने घरेलु लिगमा एक एशियन खेलाडी अनिवार्य गर्दा दक्षिण एशियाली फुटबलमा फाईदा पुग्ने भन्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सो प्रस्ताव साफको पछिल्लो बैठकमा पेश गरेका हुन् ।
एन्फा स्रोतका अनुसार प्रस्तावमा साफका सदस्य सबै राष्ट्र सहमत भएपनि भारतले मानिरहेको छैन । प्रस्तावलाई साफको बैठकले पारित गरे नेपाल लगायत धेरै दक्षिण एशियाली राष्ट्रका खेलाडी विदेशी भुमिका गएर लिग खेल्ने सम्भावना बढ्ने एन्फाको दाबी छ ।