एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले वाट्फोर्डलाई २ - १ ले हराएको हो ।
वाट्फोर्डको मैदानमा १० खेलाडीमा सिमित युनाइटेडलाई जित दिलाउन रोमेरो लुकाकु र क्रिस स्मलिङले एक एक गोल गरे । वाट्फोर्डका आन्द्रे ग्रेले एक गोल फर्काए ।
खेलको ३५ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । ३८ औं मिनेटमा स्मलिङले गोल गरेपछि युनाइटेडले पहिलो हाफमा २ - ० को अग्रता बनायो ।
दोस्रो हाफमा वाट्फोर्ड खेलमा फर्कने प्रयास गर्यो । ६५ औं मिनेटमा ग्रेले गोल गर्दै खेल २ - १ मा ल्याए । त्यसपछि वाट्फोर्डले थप गोल गर्न सकेनन् र खेल युनाइटेडलाई २ - १ ले सुम्पिन बाध्य भयो ।
खेलको इन्जुरी समयमा निमान्जा म्याटिचले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउदा युनाइटेड केहि समय १० खेलाडीमा समेटिएको थियो ।
यो जितसंगै युनाइटेडले ५ खेलबाट ९ अंक जोडेको छ । युनाइटेडको यो जारी सिजन तेस्रो जित हो । वाट्फोर्डले १२ अंक जोडेको छ । युनाइटेडसंगको हारसंगै वाट्फोर्डको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुंगिएको छ ।