एजेन्सी । बंगलादेशले युएईमा सुरु एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेका छन् । शनिबार राति भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १३७ रनले हरायो ।
दुबईमा बंगलादेशले दिएको २६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले ३५ ओभर २ बलमा अलआउट हुँदै १२४ रन मात्र बनाउन सक्यो ।
श्रीलंकाका लागि दिलरुवान परेराले २९, उपुल थरंगाले २७ तथा सुरंगा लक्मलले २० रन जोडे । बंगलादेशी बलर चम्किदा श्रीलंकाका अन्य ब्याट्सम्यान उलेख्य रन जोडन सकेनन् । बंगलादेशका मुस्ताफिजुर रहमान, हसन मिराज र माश्रफ मोर्टाजाले समान २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर ३ बलमा अलआउट हुँदै २६१ रन जोडेको थियो । बंगलादेशको सम्मानजक स्कोरमा मुसाफिकर रहिमले शतकीय इनिङस खेले । रहिमले १५० बलमा १४४ रन जोडे । यस्तै मोहमद मिथुनले ६३ रनको अर्धशतकीय इनिङस खेले ।
श्रीलंकाका लाथिस मालिंगाले ४ विकेट लिदा धनन्जय डी सिल्भाले २ विकेट लिए ।
यो जितसंगै समूह 'बि' मा रहेको बंगलादेशले महत्वपूर्ण २ अंक जोडेको छ । र, एसिया कपको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।