इलाम । दार्जिलिङको प्रतिष्ठित चौथो संस्करणको मानेभञ्ज्याङ गोल्डकप फुटबलमा फाटक नेपालले विजयी सुरुवात गरेको छ । नेपाल भारत सिमानाको मानेभञ्ज्याङ फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्धघाटन खेलमा फाटक नेपालले भारत सिलिगुडीको कञ्चनजंघा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसंगै फाटक नेपाल प्रि–क्वाटरफाइनल प्रवेश गरेको छ ।
मानेभञ्ज्याङ खेलमैदानमा भएको खेलको १८ औ मिनेटमा फाटकले विनोद क्षेत्रीको गोलबाट अग्रता लिएको थियो । २९ औ मिनेटमा अनित राईले खेल बराबरी ल्याए ।
दोश्रो हाफको अन्तिम समयमा बिजय राईले गोल गर्दै फाटकलाई जित दिलाए । फाटकले पहिलो प्रि–क्वाटरमा असोज ५ गते झापा–११ को सामना गर्नेछ । झापा दोश्रो संस्करणको मानेभञ्ज्याङ गोल्डकपको बिजेता समेत हो ।
प्रतियोगितामा नेपालका सहित भारतका २२ क्लबको सहभागीता रहको छ । प्रतियोगिता अन्र्तगत आइतबारको पहिलो खेलमा गुम वोइज युथ क्लबले धुडिया उत्तर प्रदेश र टिकेएसस दार्जिलिङले अमुक्त परिवार सिलिगुडीको सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले भारतीय रुपैया २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ ।