काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी नगदसहित सम्मानित भएका छन् । अलराउण्डर करणलाई शनिबार नेपाली क्रिकेट समर्थक समाजले सम्मान गरेको हो ।
समाजले करणलाई स्व. प्रमोद बज्राचार्य राष्ट्रिय सेवा सम्मानसहित नगद १ लाख पुरस्कारबाट सम्मानित गरेको हो । नामिबियामा सम्पन्न डिभिजन-२ मा क्यानाडाविरुद्ध सनसनी प्रदर्शन गरेर नेपाललाई महत्वपूर्ण जित दिलाएको भन्दै समाजले करणलाई सम्मान गरेको हो ।
गत फागुन भएको क्यानाडाविरुद्ध १ विकेटको जितले नेपाल विश्वकप छनोटमा पुग्न सफल भएको थियो । विश्वकप छनोटबाट नेपालले ऐतिहासिक एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो । करणले क्यानडाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै अविजित ४२ रन जोडेका थिए ।
समाजले आफ्ना पुर्व कोषाध्यक्ष स्वर्गीय प्रमोद बज्राचार्यको सम्झनामा यो पुरस्कारको स्थापना गरेको हो । स्वर्गीय बज्राचार्यको ब्रेन ह्याम्रेजको कारण निधन भएको थियो ।
यस्तै समाजले इमर्जिङ प्लयेरको रुपमा हरि चौहान छेत्रीलाई पनि २५ हजार नगदले सम्मान गरेको छ ।
करणलाई समाजका अध्यक्ष भानु सिग्देल, स्वर्गीय बज्राचार्यको परिवारका सदस्य लगायतले चेक हस्तान्तरण गरेका थिए ।