काठमाडौं । नेपाली फुटबल विकासको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबारबाट ग्रासरुट फुटबल कार्यक्रम सुरु गर्दैछ ।
फिफाको सहयोगमा तल्लो तहबाट फुटबल विकास गर्न एन्फाले शनिबारबाट आफ्ना ४५ सदस्य जिल्लामा ग्रासरुट फुटबल कार्यक्रम सुरु गर्न लागेको हो । शनिबारबाट ग्रासरुट कार्यक्रम सुरु हुने भएपनि औपचारिक उद्घाटन पछि हुने एन्फाले जनाएको छ ।
'ग्रासरुट कार्यक्रम ४५ वटै जिल्लामा सुरु हुन्छ तर, कार्यक्रमको औपचारिक उद्घाटन पछि हुनेछ,' एन्फाका प्रवक्ता किरण राईले भने ।
कार्यक्रममा ६ देखि १२ बर्षसम्मका बालबालिका सहभागी हुनेछन् । यस कार्यक्रममा सिनियर खेलाडीले खेल्ने फुटबल नियम लागु हुँदैन । बालबालिकालाई मनोरन्जनात्मक तरिकाले फुटबल खेल्न सिकाईन्छ ।
एन्फाले ग्रासरुट फुटबल गतिविधि बढाउन, मैदानको मर्मत लगायतको कार्य गर्न ४५ वटै जिल्लामा आर्थिक सहयोग र खेलकुद सामग्रीहरु प्रदान गरेको छ ।
एन्फाले सुगम जिल्लालाई ५ लाख नगद र एक लाख बराबरको खेलकुद सामग्री प्रदान गरेको छ । यस्तै दुर्गम जिल्लाको लागि एन्फाले १० लाख नगद र १ लाख बराबरीको खेल सामग्री प्रदान गरेको छ ।